Technology · Knowledge · Wisdom

Shape
Shape
Shape
Shape Shape
07 Aug 2024 0 Educational
img

अनलाइनबाटै प्यान कार्ड बनाउने तरिका | How to make PAN card online

स्थायी लेखा नम्बर अर्थात प्यान । सरकारले एक हजार रूपैयाँ माथिको भुक्तानीमा प्यान नम्बर अनिवार्य गरेको छ । व्यवसाय गर्न होस् वा तलब नै लिन किन नहोस् प्यान नम्बर अनिवार्य चाहिन्छ । व्यक्ति र कम्पनीले फरक फरक प्यान लिनुपर्छ ।

नागरिकहरूले तिरेको कर र राजस्व चुहावटको ट्रयाक राख्नको लागि सरकारले यस्तो व्यवस्था गरेको हो ।

स्थायी लेखा नम्बर अर्थात प्यान प्रत्येक करदाताको पहिचानका लागि दिइने स्थायी संकेत अंक हो । यो ९ अंकको हुन्छ । कुनै व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण परिवर्तन गरे पनि करदाताको संकेत नम्बर भने स्थायी हुन्छ ।

प्यान नम्बर लिन कुनै शुल्क लाग्दैन् । लिन पनि एकदमै सजिलो छ । हामीले अनलाइनबाटै सहज रूपमा आफ्नो लागि प्यान नम्बर लिन सक्छौं । नागरिक एप र आन्तरिक राजस्व विभागको वेबसाइटबाट प्यान नम्बर सजिलै लिन सकिन्छ । आजै हामी तपाईलाई प्यान नम्बर कसरी लिने भन्ने बारेमा जानकारी दिदैछौं ।

सुरूमा नागरिक एपबाट कसरी लिने जानौं । प्यान नम्बर लिने सबैभन्दा सजिलो तरिका भनेको नागरिक एपबाट हो । तपाईले केही समयमै प्यान नम्बर पाउन सक्नुहुन्छ । तर यसको नागरिक एपको अकाउन्ट बनाउन जरूरी छ । यदी नागरिक एपमा अकाउन्ट छैन् भने चिन्ता नलिनुहोस् । आफ्नो नाममा भएको सीम र नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा ड्राइभिङ लाइसेन्ससहित आवश्यक अरू विवरण राखेर सजिलै अकाउन्ट बनाउन सकिन्छ ।

यदी अकाउन्ट खोल्दा आफ्नो नागरिकताको विवरण राख्नुभएको छैन् एपभित्र रहेको नागरिकता सेक्सनमा गएर आफ्नो नागरिकता विवरण राख्नुपर्नेछ । किनकी प्यान नम्बर लिन नागरिकताको विवरण भर्नुपर्छ ।

 

यति गरेपछि नागरिक एप भित्र रहेको प्यान लेखिएको ठाउँमा क्लिक गर्नुहोस् । अनि प्यान दर्ता गर्नुहोस् लेखिएको ठाउँमा दबाउनुहोस् र आफ्नो नजिकको राजस्व कार्यालय छनौट गरी अगाडि बढ्नुहोस् ।

अब एपमा प्रमाणीकरण गराएका विवरणमा स्वतः भरिएर आउने छन् । बाँकी केही छुटेको भए विवरण राखेर अगाडि बढ्नुहोस् । तपाईले एपमा फाराम बुझाएको केही क्षणमै प्यान तयार हुनेछ ।

 

नागरिक एपबाट सजिलै प्यान बनाउने आईडिया त हामीले पायौं । अब आन्तरिक राजस्व विभागको वेबसाइटबाट कसरी प्यान बनाउने त्यो पनि जानौं है त।

यसका लागि

सबैभन्दा पहिला आन्तरिक राजस्व विभागको वेबसाइट  https://ird.gov.np/ मा जानुहोस् ।

होम पेजमा भएको पेयर पोर्टल मा क्लिक गर्नुहोस् । प्यानको लागि दर्ता गर्न पहिला खाता खोल्नुपर्ने हुन्छ ।   खाता खोल्नको लागि रजिस्ट्रेसन (प्यान, भ्याट) मा क्लिक गर्नुहोस् र त्यस भित्रको अप्लिकेशन फर रजिस्ट्रेसनमा जानुहोस् ।

यसमा भएको युजरनेम मा आफ्नो नाम राख्नुहोस् र पासवर्डमा आफूले सम्झिने र अरूले चोर्न गाह्रो हुने पासवर्ड हाल्नुहोस् र रि पासवर्डमा त्यही अघि राखेको पासवर्ड राख्नुहोस् ।

कन्ट्याक्ट नम्बरमा आफ्नो सम्पर्क नम्बर र इमेल आइ दि मा इमेल लेख्नुहोस् । कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो ठेगाना आइ आर ओ नेम मा खुलाउनुहोस् ।

यो सबै भरेपछि ओके बटनमा थिच्नुहोस् र यति गरेपछि सब्मिशन नम्बर आउँछ भने यसलाई सुरक्षित साथ राख्नुहोला किनभने यो पछि काम लाग्छ, यही युजरनेम र पासवर्ड तपाईँले आन्तरिक राजस्व विभागको अन्य इ सिस्टमहरू मा पनि प्रयोग गर्न सक्नुहुन्छ । त्यसैले आफ्नो युजरनेम, पासवर्ड र सब्मिशन नम्बर सुरक्षित राख्नुहोस्।

सब्मिशन नम्बर आएपछि कन्टिन्यू मा थिच्नुहोस् त्यहाँ दिइएका आवश्यक व्यक्तिगत विवरण, फोटो र परिचयपत्र (नागरिकता वा पासपोर्ट) को विवरण भर्नुहोस्।

कुनै विवरण थाहा नभएर पछि भर्नुपर्ने भए सेभ गर्न सक्नुहुन्छ । यस्तो गर्दा पछि युजरनेम, पासवर्ड र सब्मिशन नम्बर हालेर लग इन गरेर फेरी विवरण भर्न सकिन्छ।

विवरण भरेर ठिक छ छैन जाँच्नलाई हेरिसकेपछि सेभ गरेर सब्मिट मा क्लिक गर्नुहोस्। सब्मिट गरिसकेपछि कुनै विवरण गलत भए पनि मिलाउन पाइदैन । त्यसैले सब्मिट गर्नु अघि नै सबै विवरण राम्रोसँग हेर्नुहोला। त्यसपछि प्रिन्टमा थिचेर विवरण प्रिन्ट गर्नुहोस् र सोही प्रिन्ट लिएर आफूले छानेको सम्बन्धित कार्यालयमा जानुहोस्।

कार्यालयले तपाईँलाई विवरण जाँच गरेर प्यान नम्बर दिन्छ ।

 

विभागको वेबसाइटमा प्यान नम्बर लिन भने केही समय लाग्न सक्ने छ । यदी तपाईलाई भौतिक रूपमा नै प्यान कार्ड लिनु छ भने फाराम भर्दा आफुले छनौट गरेको राजस्व कार्यालयमा जान सक्नुहुनेछ । तर धेरै ठाउँमा प्यान नम्बर भए मात्रै काम चल्ने छ ।

Comments (0)

Leave a comment

Your email address will not be published. Required fields are marked*